28 September, 2012

प्रश्नहरू...


कुनै प्रश्न यस्ता हुन्छन्
आफैलाई सोधिहेर्छु,
खोजिहेर्छु आफू भित्रै
कतै लुकिरहेका-
ती सत्यहरू।
भोलि,
मलाई सोध्नेछन् यी
किन यहाँ शहर टुक्रिएर सडक,
सडक च्यातिएर गल्ली,
गल्ली एक्लिएर सुन्यतामा हराउँछ।
कसैको सोचाइमा पनि
किन यहाँ म हामी हुन सक्दैन,
किन हामीमा म अट्न सक्दिन,सकिन।
खोजिहेर्छु आफू भित्रै
किन अचेल यहाँ निरश म'हरू
गल्ली रुङ्दै बसेका,
आफ्नै छाँया देखि तर्सिएर
रात छोप्न बसेका।
यी बादल भित्र लुकी हेर्ने
जुन किन डराउँछ
साथी लाग्थे ताराहरू
बिहान् किन हराउँछ।
आफैलाई सोधिहेर्छु,
खोजिहेर्छु आफू भित्रै
कतै लुकिरहेका-
ती सत्यहरू,मेरो जिन्दगीमा।

~ शशिर

14 September, 2012

हामी


हामी,
संगै बसेका रित्ता भाँडा
जुधछौँ,बज्छौँ घरि-घरी
एकको सुर अर्कोलाई झर्को
जीवन बित्छ यसैगरी ।

हामी,
खोक्रोपनमा आडम्बका रेखाहरू
लेखिन्छौँ,मेटिन्छौँ घरि-घरी
एकको भाग्य अर्कोलाई आहरिस
जीवन बित्छ यसैगरी ।

हामी,
निर्लज्जामा आदर्शका गुन्ठाहरू
बोकिन्छौँ,फ्याकिन्छौँ घरि-घरी
एकको उपदेश अर्कोलाई बोझ
जीवन बित्छ यसैगरी ।

हामी,
अविश्वासमा हुर्किएका सपनाहरू
टाँसिन्छौँ,च्यातिन्छौँ घरि-घरी
एकको सफलता अर्कोलाई दुर्भाग्य
जीवन बित्छ यसैगरी ।  

हामी को हौँ र आखिर?
हामी,
फगत,
अचेतनामा मान्छेरुपी लाशहरू
लुछिन्छौँ,सिद्दिन्छौँ यसैगरी
रात-दिन लडिरहन्छौँ बेअर्थ
जीवन बित्छ यसैगरी।

~ शशिर









 

04 September, 2012

जन्मदिनको शुभकामना!


आजकै दिन,साँझ परेथ्यो
जब तिमी जन्मिएथ्यौ,
सबैको प्यारो, कान्छो  बनेर
जस्तै।
बाबा हर्षले सुम्सुम्याउन थाल्नु भयो,
आमा,तिम्रो मुहारमा आफ्नो भविश्य देख्नुभयो,
चन्द्र टल्किएझैँ,हिस्सी पारेको,
एक दिब्य कल्पना तिमी,स्नेह पोख्नुहुन्थ्यो।
तिमी बोल्न खोज्थ्यौ,
सब हाँसिदिन्थे,केबल उनी बुझ्थिन्
आमा थीइन्।

तिम्रा कलिला गोडा कुदाउँला झैँ हल्लिएका,
गुटुमुटिएर तिमी भोलि कुर्दै थियौ,
दिन,महिना बर्ष गन्दै।
मुठ्ठी सानो कस्सिएको,खुला पर्यौ
हातका रेखाहरू जोडिदै छुटिदै
लछ्छिन बेर्दै बसेका,
गोरेटोले बाटो पछ्याएझैँ
भाग्यका कुलाहरू,सफलताको खोलामा मिसिएका,
कति सालिन,कती सौम्य।
हामी उहिलेकै साथी थियौँ,
रगतको नाता नजोडिएपनी।

हाम्रो गाँस फरक थिए,भोक एउटै
तिम्रो भोजनमा भरिएको छु
अघाएको छु,थाहै नदिई
कति पटक।
हाम्रो यात्रा भिन्न थिए,गन्तब्य एउटै
अग्ज्ञानतामा हराउँदा तिम्रो हात समाएको छु
उभिएको छु,तिम्रो साथ पाई
कति पटक।

तिमी मेरो आँशु पहिल्याउँछौ,मुस्कान दिन्छौ
हृदयको भरोसा भएका छौ
तिमी असफलतामा प्रेरणा दिन्छौ,उदाहरण बन्छौ
बाटो देखाएका छौ।   

आजको दिन, सम्झन्छु हाम्रो मित्रता
बनीरहोस,अटल हिमाल झैँ
चम्किरहोस सदैव प्रकाश बनेर,
क्षितिज सम्म।
मेरो यहि कामना,
तिमी फुलिरहनु,हर मौसम
सुवास छरिरहनु,माया बाँडिरहनु।
यो मित्रताको मिठास कहिल्यै नबद्लियोस,जूनीभर
यहि शुभकामना!

~शशिर 




 

30 August, 2012

'पिता वर्षमान'


'ज्या पहिलो गाँसमै ढुङ्गा!होइन तिमिहरू नाथे चामलनी राम्ररी केलाउन सक्दैनौ',वर्षमान बहुलायो।भरदिनको कामले लोद फर्किएको,स्वास्नीलाई आँखा तर्दै एक थुप्रो भात हातमा ओकल्यो आँगनमा मिल्क्यायो।बुढी चाँही कालो मुख लगाएर केही नबोली चोटाँ उक्ली।हुनहुन्तिदै बर्दलीको ओछ्यानमा गीत गुन्गुनाइरहेकी छोरीको कपाल समाती,जरासम्मै।'बङ्गीले एउटै काम पुरा गर्दिन्।तँलाई के को चटारो डङ्किनी!'जोडसँग भुत्ल्याउन लागि।छोरी पिल्ल आँशु झार्न थाली।सानै थिई।अनुहारभरी सिँगान आँशु पोतिएको थियो।कोइली देवीले गाउन छोडिन्,नाके स्वोरमा केही बजिरहेथ्यो।केबल शब्द थिएन।
'तल घिच्न मर्।'आमा सराप्दै तल झरी।छोरी सुक्क-सुक्क आँखा मिच्दै भान्छा ओर्ली।हातले धेरै घिर्श्याएर आँखा राता-राता भएका थिए।कपाल चार दिशा जिङ्रिएका,मुहारमा सिँगानका पाप्रा टुकीको मधुरो प्रकाशमा चाँदीझैँ टल्किएका देखिन्थे।केही बोल्न सकिन,अगेँना छेउ टुक्क्रुक बसी।आँसु अझै रसाइरहेका थिए।आमाले थाल बजार्दै रिस देखाई।अझै फत्फताउदै थिई।वर्षमान केही नबोली अम्खरा च्यापी बाहिर निस्कियो।चुठेर सोझै चिलिम बनाउन अगेँनामा आइपुग्यो।बुढीको गन्थनमा खासै चासो देखाएको थिएन।छोरी अझै रुदै थिई,अनी खप्न सकेन।
'होइन कति पिट्छे यो बालखलाई।भर दिन गाउँ चहारेर दुनियाँको कुरा कट्दैमा फुर्सद छैन,बित्थामा छोरीलाई कुट्छे।केके गरेँ भन्ठान्दी हो।'
बुढि केही मथ्थर भई।क्ष्यणभरमै छाती चिसिएझै भयो,हातमा अनौठो कम्पन थियो।मनमा बिचित्रको ग्लानी पलायो।चुलोको मुखनेर अगुल्टो ठुस्न खोजी।आगो तोडले दन्कियो,रापले शरीरै डढाउँला झैँ गर्यो।उसको मन त्यसै पिल्सिएर आयो,डाहले थलिई।मायालु नजरले छोरी तर्फ हेरी,रोऔला झै गरि।आमाको मन थेग्न सकिन।आँशु बर्सी हाले।'जा गएर मुख धोएर !कस्ती घिन्लाग्दी भएकी।अब ख्याल गरेस्।',निकै बेर पछी रुन्चे स्वोरमा बोली।छोरी आँखा मिच्दै बाहिर निस्किई।वर्षमान हुक्का ट्वार्-ट्वार पार्दै स्वास्नी तर्फ आँखा सोझ्यायो।उसका आँखा रसाएर आए।छोरी दैलोबाट आमा बाबु नियाली बासी।उसले बाबु रोएको कहील्यै देखेकी थिईन।सोची मेरो पिता जस्तो कोइ छैन।
~ शशिर

15 August, 2012

अहो युवा!!-(लघुकथा)

उ बसन्तपुरको एक सुकुल होटेलमा लडेर बसेको रहेछ।म पुग्दा एकसुरले चुरोट तानिरहेथ्यो।आकासै छुवाउँला झैँ धुवाँको मुस्लो फुकिरहेथ्यो।निकै मेहेनत गरेर धुवाँको 'चक्रे आक्रिती' जस्तो बनाउन खोज्थ्यो।कतीखेर खुसी पोख्थ्यो र फेरी त्यही खेलमा लाग्थ्यो।प्राय सक्दैन्थ्यो,अनी दलान हेर्थ्यो,भित्ता चिथोर्थ्यो।शायद धेरै भएको छैन उसले चुरोट खान थालेको,घरी-घरी खोकी रहेथ्यो।म आएको देखेर केहीबेर अकमक्कियो।दुबै हात फिँजाएर गुम्सिएको धुवाँ छाट्न थाल्यो।छरपस्ट बियरका सिसिहरु यताउता मिलाएझैँ गर्यो।अनी छेवैको सुकुल तेर्श्याएर बस्न भनी देखायो।म भने त्यतिन्जेल उसलाई एक कुनाबाट नियाली रहेँ,मुर्ती बनेर।कतै हराएझैँ,सोच विहिन म-निकै बेर पछी चेत खुल्यो,सोचेँ 'अहो युवा,कता तीर??'।
~ शशिर

20 July, 2012

यात्रा खोज्दैछु


बाटो भुल्ने बानी मेरो,
डोर्‍याउँछ कता यो गोरेटो!
पुग्नु कस्तो गन्तव्यमा
हिड्नु नै त जीवन हो।

घरी-घरी बिर्सिदिन्छु,
बन्धनका यि ज्ञान निती
घर भित्र-सहरहरु,
जात्रा लाग्छ नित्य रिती।

आफ्नो के यो,थियो र खोइ
मित्र तिमी भित्र देख्दैछु।
चेतनमा अचेल यहाँ,
मन बहलाउने यात्रा खोज्दैछु।

©Shashi Raj Pandey 
20.07.12 

20 May, 2012

अराजक!!


मलाई मेरो पेसा-धर्म बिर्सी भन्छ अराजक
देशको माया खुम्च्याएर एक्ली भन्छ अराजक।

तल्लो जात तेरो मेरो माथि भनी झुक्याउँछ
भाई जुधाई मुख मिठ्ठ्याउँछ मौका छोप्छ आराजक।

'यो तेरो,एती तेरो',भागहरु जन्माउँछ
मौका पाउँछ,खुसुखुसु बेचिदिन्छ अराजक।

सिमा कोर्छ,आमालाई सन्तान छान्न तर्साउँछ
धुर्त,बुद्दीलाई हृदयको बैरी बनाउँछ अराजक।

अधिकारको डन्क फुक्छ,समान्ताको पाठ फलाक्छ
निमुखालाई तेर्साएर खाने सोच्छ अराजक।

बजारु छ,हरेक रात नैतीकताको गफ लडाउँछ
गरीबको गाँस खोस्छ कुबेर बन्छ अराजक।

©Shashi Raj Pandey 
20.05.12

31 March, 2012

सत्य कस्तो??


यहाँ भीडभित्र बसी आफ्नो
स्वर खोज्नेहरु,
मुर्ख कहलिन्छन ब्यर्थै,
सत्य जती फालके पनि।

सुन्ने कती??बुझ्ने कती??
सत्य न देख्न मिल्छ
न त सुन्न नै।

तिमीले जे देख्यौ त्यो भन्यौ
कती पुरा भन्यौ,
कती भुल्यौ ,बिर्सियौ
अनी,
तिम्रो सत्य के अझै
चोखै रह्यो?
बेदाग,निर्मल
हिमाल झैँ।

म डराउँछु त्यसैले
मेरा प्यारा सत्यहरु
आफ्नै परिधिमा खुम्चिएका
लडिरहेका निर्जिब लाशहरु,
अस्तित्व खोजिरहेका।।

©Shashi Raj Pandey 
31.03.12

28 March, 2012

हराएको म!

कथाहरु बिच आज यस्तो कथा लेखिँदैछ
आफुभित्र हराएको पात्र खोजिँदैछ।।

रमाउने बिहानीमा उमङगका किरणहरु
इश्पर्शमा मौलाउने पात्र खोजिँदैछ।।

श्रिङ्गारिने सुन्दरतामा प्रकृतिका स्वरुपहरु
सालीनतामा सन्तोशीने पात्र खोजिँदैछ।।

जन्माउने प्रयासमा सफलताका बिम्बहरु
नैरास्यमा नटुक्रिने पात्र खोजिँदैछ।।


कथाहरु बिच आज यस्तो कथा लेखिँदैछ
आफुभित्र हराएको पात्र खोजिँदैछ।। 




©Shashi Raj Pandey 
28.03.12

14 March, 2012

Just One More Turn!!

In air,
the tossed coin
Revs so well;head and tail
You win a time-you lose again!


Why gamble on;yours blurred fate!
Or have it done
The winners run
What makes the difference 
Is just one more turn!!




© Shashi Raj Pandey
02.10.2011

28 November, 2011

झोला..

 म केही दिनयता मनको शान्तीका लागि कुनै बुटीको खोजिमा थिएँ।यस्तो बुटी जसलाई आफ्नो इच्छा अनुसार लाउन मिलोस,परी आए चपाउन मिलोस,निल्न सकियोस र काम नलाग्ने भएपछी ओकल्न सकियोस।स्वाद दिएर आन्द्रा कुहियाउने,पेट भरेर चित्त रित्याउने,जोश जन्माई होश तुहियाउने सब थोकबाट अब म अघाई सकेको थिएँ।यसै क्रममा रातदिन विभिन्न तिर्थ धाउन थालेँ। बिहान सबेरै उठ्नु र जप-तप गरी मठ-मन्दिरतिर लाग्नु अब मेरा लागि कुनै नौलो बिषय रहेन।यो मेरो दिनचर्या नै बनेको थियो।कहिलेकाहीँ,सम्योग नै भन्नु पर्छ दिल खोलेर हास्ने मौका पाइयो।तर मनले चिताएको शान्ती भने पाइएन।यिनै कारणले अचेल म त्यति खुशी हुन सकेको थिइन।अरु हाँसेको देख्दा समेत इर्श्या लाग्न थालेको थियो मलाई।      

आईतवारको दिन। आज कुनै बिशेष काम थिएन।जिरीबाट हिजो मात्रै फर्किएको,थकाईले जिउनै पिसिए जस्तो भएको छ। हिमाल देख्न नपाएकोमा मन खिन्न त छदै थियो तापनी यात्राको रौनकले केही हदसम्म सन्तुष्ट थिएँ।पढ्ने जाँगर थिएन,यात्राको मिठो इस्मरणमा घुटुमुटीएर ओछ्यान्मा लडेको थिएँ।सोचेको थिएँ आजको दिन यसरीनै बितिजान्छ।हुनपनी मलाई शहर घुम्ने केही सोख छैन अब।गाडीले धुलिखेल छोडेर बनेपा छिरेपछी एक मन रोएको पनि थिएँ।आफ्नै घर भएतापनी काठमान्डुको मलाई कुनै मोह छैन।पैतिस बर्ष अघि मेरो बुवाले पाउ टेकेको यो त्यै भुमी कहाँ रह्यो र अब।

मेरो घरै अगाडि प्राय घुइचो हुने गर्छ। शायद चोक परेर हुनसक्छ अन्यत्र भन्दा यहाँ निकैनै चहल्पहल देखिन्छ। र मलाई लाग्दैन यहाँ कुनै जिल्लाका मानिस बस्न छुटेकाछन्। यहाँ सब अटेका छन्,अटाइएका छन्।सब एकै पोको पारी कोचिएका,आ-आफ्नै स्वार्थमा गुम्सिएका यो शहर शरीरै शरीरको थुप्रो भन्दा केही रहेन।खाने भन्दापनी बाच्ने मुल भयो। सन्यासीको तपोबान मासियो,जोगीको धाम मैलियो।इीतिहस छिमेकमा बेचेर नयाँ युगको घोक्रे बिगुल पनि  फुकियो।भर दिन हुने भनौदाहरु यसलाई आफ्नु बनाउन ढुकिरहे,कुच्याइरहे।अहिले यो बिधवा भएकी  छे।श्रिङ्गारको पर्खाइमा छे।सोचेँ यहाँ घुम्नुको रत्ती अर्थ छैन।

सिरानीको चेपमा उकुस-मुकुस भएर बसेको फोनलाई वब डिलेनको 'ब्लोविङ इन द विन्ड'ले झस्काइ दिन्छ।'दस बजे तिर आईज न त!मेरो अलिकती काम छ पुल्चोक तिर।',फोनमा साथी सुमनले अर्थ्यायो।

बल्यकालदेखिकै साथी हो सुमन।प्रस्ट भन्दा त्यही एक मात्रै छ अहिल,मर्दा-पर्दाको साथी।नाइँ भन्नै सकिन।समयमै भेट्ने तय भयो।खाना खाएर आउछु भनीदिएँ।ठिक समयमा पुग्नु वा नपुग्नुले हाम्रो घनिस्टतालाई खासै फरक त पर्दैन तर पनि कसैलाई समय दिएर अबेर गर्नु निको हुँदैन।म समयमै उसलाई भेट्न पुगेँ।

चर्को घामको तोडले शरीरलाई झनै आलस्य पारेको  थियो।"पहिले भ्रिकुटीमन्डप जाउँ है।एक जान विद्वानलाई भेट्नु छ",सुमन भन्दै थियो।(केही गम खाएर)"कतिन्जेल अर्काको झोला भएर बस्ने भाई।घरी यो प्यानल घरी त्यो।जाँच कहिले हुने हो ठेगान छैन।भविश्य भन्दा सबैलाई राज्नीती सुझेको छ।विश्वविद्यलयमा ताला लगाकाछन।उनिहरुलाई के?"
अरुदिन भन्दा बिपरित,आज सुमन अली अक्रोशित देखिन्थ्यो।उसको बोलाइमा क्रोध र चिन्ता दुबै प्रस्ट झल्किन्थे। मसँग उसलाई दिने शायदै कुनै जवाफ थियो जबकी म आँफै पीडित छु।
"तलाई कुनै दलको तक्मा लगाएर किन हिंड्नु पर्‍यो।अनी तलाई कसले अरुको झोला हुनु भनेको थियो।विद्यार्थीमा राज्नैतीक सचेतना हुनु त पर्छ नै तर त्यसो भन्दैमा सबैले राज्नीती गरेर कहाँ हुन्छ र!जे उदेश्यले पढ्न जान्छस त्यही पो गर्ने हो।" मैले आफ्नो भनाइ राख्ने कोसिस गरेँ।शायद उसले विश्वबिद्यलय बन्द हुनुमा उसको भूमिका र अप्रतक्ष्य सहभागीता महसुस गर्‍यो पनि।त्यसपछी निकै बेर बोलेन।हामी एकसुरले हिँडिनै राख्यौँ।

भ्रिकुटीमन्डपमा उसको विद्वानलाई भेट भयो।ग्याम्म परेको,औँलाभरी सुनको पाता बेरिएको उ कुबेरको खजानाझैँ भान हुन्थ्यो।उसले आफु साथ एउटा ठुलो झोला पनि बोकी ल्याएको थियो।सुमनलाई देख्नासाथ उ हात मिलाउन तम्सियो।"दाई हाम्रो कलेज कहिले खोल्ने कार्यक्रम छ। छिटो खोल्नु पर्‍यो!",सुमनले मतर्फ नियाल्दै त्यस मान्छेसँग गुनासो पोख्यो।एती हुँदासम्म मैले उसको परिचय भने पाइसकेको थिईन।बुझ्दा थाहा भयो कुनै सँगठन प्रखर मान्छे रहेछ।"कसले बन्द गरेछ त्यता!!यस बिषयमा त बुझ्नै पर्छ।"
कुरा सुन्दा अनविग्य देखियता पनि उसको अनुहारमा मैले भिन्न किसिमको पहिचान पाएको थिएँ।सत्य पाक्कै अर्कै थियो,कतै लुकाइएको।यसै बिषयमा कसैलाई फोन पनि मिलायो।केही गरिदिन्छु टोपल्यो।"ल अब दुई तीन दिन होला। चिन्ता छैन,छिट्टै खुल्छ।" क्ष्यण भरमै सबै मिलेजस्तो बनायो।म केही नबोली एकोहोरो उसलाइनै हेरिरहेँ,बुद्द बनेर।

अनिपछी ,कुरै कुरामा उसले रहस्यको गुत्थी खोल्यो।पुल्चोकतिर कुनै भेलाको लागी कोरम पुराउन निस्केको रहेछ विद्वान।सुमनले मलाई जान निकै कर गर्‍यो।एक मनले देखी आउँ नसोचेको पनि होइन तर गइन।शायद कुनै अर्थ नदेखेर।

त्यताबाट निस्किएर म पारीपट्टी राष्ट्रिय सभा गृहमा चलिरहेको 'बृहत् पुस्तक प्रदर्शनी २०६८’मा लगेँ।उनिहरु मेरो नजरबाट परै छुटेका थिए।निकै अघी पुग्दापनी मेरो मन भने त्यही झोलामा अड्किएको थियो।मेरो साथी जस्तै कती विद्यार्थीहरु अचेल कुनै न कुनै रूपमा कसैको झोला भई हिंडेकाछन।यहाँ विद्यार्थिहरुलाई राज्नैतीक झोला बनाइन्छ,आफ्नो स्वार्थ बोकाइन्छ।आफ्नो अभिष्ट पुरा नहुँदा कती फालिएका पनि छन,कुनै कुनामा टाङिएका छन।एक पटक आँफैलाई बुझ्ने इच्छा जाग्छ,कतै म कसैको झोला त भइन??

मनमा अनेक तर्कना आउन थाल्यो।उसैत म मन छट्पटिएर बिरक्तिएको मान्छे,केही गर्न नसकेर अश्वस्त भएको थिएँ।अनायासै जिरी यात्राको हर्ष गुमाएछु।मुटु सानो पारी रित्तिएर म प्रदर्शनी भित्र पसेँ।भित्रको माहोल केही शान्त थियो।उती व्यवस्तित नभएपनी केही हदसम्म चित्तबुझाउने ठाउँ पाएको थिएँ।निकै बेर चाहरेपछी कृष्ण धरावासीको 'आधा बाटो' र भुपी शेर्चनको 'घुम्ने मेचमाथि आन्धो मान्छे' च्यापेर बाहिर निस्किएँ।शेर्चनको अन्धो मान्छे भित्र आफ्नो झोला'फेला पारेपछी म केही बेर घोत्लिएँ।यहाँ कती धेरै झोलाहरु.....।     

©Shashi Raj Pandey
26.11.11




     

Search In This Blog