28 September, 2012

प्रश्नहरू...


कुनै प्रश्न यस्ता हुन्छन्
आफैलाई सोधिहेर्छु,
खोजिहेर्छु आफू भित्रै
कतै लुकिरहेका-
ती सत्यहरू।
भोलि,
मलाई सोध्नेछन् यी
किन यहाँ शहर टुक्रिएर सडक,
सडक च्यातिएर गल्ली,
गल्ली एक्लिएर सुन्यतामा हराउँछ।
कसैको सोचाइमा पनि
किन यहाँ म हामी हुन सक्दैन,
किन हामीमा म अट्न सक्दिन,सकिन।
खोजिहेर्छु आफू भित्रै
किन अचेल यहाँ निरश म'हरू
गल्ली रुङ्दै बसेका,
आफ्नै छाँया देखि तर्सिएर
रात छोप्न बसेका।
यी बादल भित्र लुकी हेर्ने
जुन किन डराउँछ
साथी लाग्थे ताराहरू
बिहान् किन हराउँछ।
आफैलाई सोधिहेर्छु,
खोजिहेर्छु आफू भित्रै
कतै लुकिरहेका-
ती सत्यहरू,मेरो जिन्दगीमा।

~ शशिर

14 September, 2012

हामी


हामी,
संगै बसेका रित्ता भाँडा
जुधछौँ,बज्छौँ घरि-घरी
एकको सुर अर्कोलाई झर्को
जीवन बित्छ यसैगरी ।

हामी,
खोक्रोपनमा आडम्बका रेखाहरू
लेखिन्छौँ,मेटिन्छौँ घरि-घरी
एकको भाग्य अर्कोलाई आहरिस
जीवन बित्छ यसैगरी ।

हामी,
निर्लज्जामा आदर्शका गुन्ठाहरू
बोकिन्छौँ,फ्याकिन्छौँ घरि-घरी
एकको उपदेश अर्कोलाई बोझ
जीवन बित्छ यसैगरी ।

हामी,
अविश्वासमा हुर्किएका सपनाहरू
टाँसिन्छौँ,च्यातिन्छौँ घरि-घरी
एकको सफलता अर्कोलाई दुर्भाग्य
जीवन बित्छ यसैगरी ।  

हामी को हौँ र आखिर?
हामी,
फगत,
अचेतनामा मान्छेरुपी लाशहरू
लुछिन्छौँ,सिद्दिन्छौँ यसैगरी
रात-दिन लडिरहन्छौँ बेअर्थ
जीवन बित्छ यसैगरी।

~ शशिर









 

04 September, 2012

जन्मदिनको शुभकामना!


आजकै दिन,साँझ परेथ्यो
जब तिमी जन्मिएथ्यौ,
सबैको प्यारो, कान्छो  बनेर
जस्तै।
बाबा हर्षले सुम्सुम्याउन थाल्नु भयो,
आमा,तिम्रो मुहारमा आफ्नो भविश्य देख्नुभयो,
चन्द्र टल्किएझैँ,हिस्सी पारेको,
एक दिब्य कल्पना तिमी,स्नेह पोख्नुहुन्थ्यो।
तिमी बोल्न खोज्थ्यौ,
सब हाँसिदिन्थे,केबल उनी बुझ्थिन्
आमा थीइन्।

तिम्रा कलिला गोडा कुदाउँला झैँ हल्लिएका,
गुटुमुटिएर तिमी भोलि कुर्दै थियौ,
दिन,महिना बर्ष गन्दै।
मुठ्ठी सानो कस्सिएको,खुला पर्यौ
हातका रेखाहरू जोडिदै छुटिदै
लछ्छिन बेर्दै बसेका,
गोरेटोले बाटो पछ्याएझैँ
भाग्यका कुलाहरू,सफलताको खोलामा मिसिएका,
कति सालिन,कती सौम्य।
हामी उहिलेकै साथी थियौँ,
रगतको नाता नजोडिएपनी।

हाम्रो गाँस फरक थिए,भोक एउटै
तिम्रो भोजनमा भरिएको छु
अघाएको छु,थाहै नदिई
कति पटक।
हाम्रो यात्रा भिन्न थिए,गन्तब्य एउटै
अग्ज्ञानतामा हराउँदा तिम्रो हात समाएको छु
उभिएको छु,तिम्रो साथ पाई
कति पटक।

तिमी मेरो आँशु पहिल्याउँछौ,मुस्कान दिन्छौ
हृदयको भरोसा भएका छौ
तिमी असफलतामा प्रेरणा दिन्छौ,उदाहरण बन्छौ
बाटो देखाएका छौ।   

आजको दिन, सम्झन्छु हाम्रो मित्रता
बनीरहोस,अटल हिमाल झैँ
चम्किरहोस सदैव प्रकाश बनेर,
क्षितिज सम्म।
मेरो यहि कामना,
तिमी फुलिरहनु,हर मौसम
सुवास छरिरहनु,माया बाँडिरहनु।
यो मित्रताको मिठास कहिल्यै नबद्लियोस,जूनीभर
यहि शुभकामना!

~शशिर 




 

Search In This Blog