30 August, 2012

'पिता वर्षमान'


'ज्या पहिलो गाँसमै ढुङ्गा!होइन तिमिहरू नाथे चामलनी राम्ररी केलाउन सक्दैनौ',वर्षमान बहुलायो।भरदिनको कामले लोद फर्किएको,स्वास्नीलाई आँखा तर्दै एक थुप्रो भात हातमा ओकल्यो आँगनमा मिल्क्यायो।बुढी चाँही कालो मुख लगाएर केही नबोली चोटाँ उक्ली।हुनहुन्तिदै बर्दलीको ओछ्यानमा गीत गुन्गुनाइरहेकी छोरीको कपाल समाती,जरासम्मै।'बङ्गीले एउटै काम पुरा गर्दिन्।तँलाई के को चटारो डङ्किनी!'जोडसँग भुत्ल्याउन लागि।छोरी पिल्ल आँशु झार्न थाली।सानै थिई।अनुहारभरी सिँगान आँशु पोतिएको थियो।कोइली देवीले गाउन छोडिन्,नाके स्वोरमा केही बजिरहेथ्यो।केबल शब्द थिएन।
'तल घिच्न मर्।'आमा सराप्दै तल झरी।छोरी सुक्क-सुक्क आँखा मिच्दै भान्छा ओर्ली।हातले धेरै घिर्श्याएर आँखा राता-राता भएका थिए।कपाल चार दिशा जिङ्रिएका,मुहारमा सिँगानका पाप्रा टुकीको मधुरो प्रकाशमा चाँदीझैँ टल्किएका देखिन्थे।केही बोल्न सकिन,अगेँना छेउ टुक्क्रुक बसी।आँसु अझै रसाइरहेका थिए।आमाले थाल बजार्दै रिस देखाई।अझै फत्फताउदै थिई।वर्षमान केही नबोली अम्खरा च्यापी बाहिर निस्कियो।चुठेर सोझै चिलिम बनाउन अगेँनामा आइपुग्यो।बुढीको गन्थनमा खासै चासो देखाएको थिएन।छोरी अझै रुदै थिई,अनी खप्न सकेन।
'होइन कति पिट्छे यो बालखलाई।भर दिन गाउँ चहारेर दुनियाँको कुरा कट्दैमा फुर्सद छैन,बित्थामा छोरीलाई कुट्छे।केके गरेँ भन्ठान्दी हो।'
बुढि केही मथ्थर भई।क्ष्यणभरमै छाती चिसिएझै भयो,हातमा अनौठो कम्पन थियो।मनमा बिचित्रको ग्लानी पलायो।चुलोको मुखनेर अगुल्टो ठुस्न खोजी।आगो तोडले दन्कियो,रापले शरीरै डढाउँला झैँ गर्यो।उसको मन त्यसै पिल्सिएर आयो,डाहले थलिई।मायालु नजरले छोरी तर्फ हेरी,रोऔला झै गरि।आमाको मन थेग्न सकिन।आँशु बर्सी हाले।'जा गएर मुख धोएर !कस्ती घिन्लाग्दी भएकी।अब ख्याल गरेस्।',निकै बेर पछी रुन्चे स्वोरमा बोली।छोरी आँखा मिच्दै बाहिर निस्किई।वर्षमान हुक्का ट्वार्-ट्वार पार्दै स्वास्नी तर्फ आँखा सोझ्यायो।उसका आँखा रसाएर आए।छोरी दैलोबाट आमा बाबु नियाली बासी।उसले बाबु रोएको कहील्यै देखेकी थिईन।सोची मेरो पिता जस्तो कोइ छैन।
~ शशिर

No comments:

Post a Comment

Search In This Blog