14 September, 2012

हामी


हामी,
संगै बसेका रित्ता भाँडा
जुधछौँ,बज्छौँ घरि-घरी
एकको सुर अर्कोलाई झर्को
जीवन बित्छ यसैगरी ।

हामी,
खोक्रोपनमा आडम्बका रेखाहरू
लेखिन्छौँ,मेटिन्छौँ घरि-घरी
एकको भाग्य अर्कोलाई आहरिस
जीवन बित्छ यसैगरी ।

हामी,
निर्लज्जामा आदर्शका गुन्ठाहरू
बोकिन्छौँ,फ्याकिन्छौँ घरि-घरी
एकको उपदेश अर्कोलाई बोझ
जीवन बित्छ यसैगरी ।

हामी,
अविश्वासमा हुर्किएका सपनाहरू
टाँसिन्छौँ,च्यातिन्छौँ घरि-घरी
एकको सफलता अर्कोलाई दुर्भाग्य
जीवन बित्छ यसैगरी ।  

हामी को हौँ र आखिर?
हामी,
फगत,
अचेतनामा मान्छेरुपी लाशहरू
लुछिन्छौँ,सिद्दिन्छौँ यसैगरी
रात-दिन लडिरहन्छौँ बेअर्थ
जीवन बित्छ यसैगरी।

~ शशिर









 

No comments:

Post a Comment

Search In This Blog